जयदेव द्वितीयको पशुपति शिलालेखमा सूर्यवंशमा लिच्छवि नामका व्यक्ति राजा भएको र यसैबाट लिच्छविवंश चलेको उल्लेख छ । चाँगुको शक संवत् ३८६ को आधारमा अभिलेख भएका पहिलो लिच्छविवंशका राजा मानदेव भएको प्रमाणित गर्दछ ।
परापूर्व कालखण्डदेखि मानवजातिले विभिन्न ज्ञान र विज्ञानका विषय विकास गर्न सफल भएको पाइन्छ । विविध अनुभव, क्षमता, सीप र ज्ञान लिच्छविकालसम्म प्रशारण तथा सञ्चरण भएको भेटिन्छ । यसरी सञ्चरण भई आएका विद्याका स्वरुपहरु ज्ञानका पक्ष हुन । हस्तान्तरण तथा पुस्तान्तरण हुँदै आएको ज्ञान मानव समाजलाई गतिशिल, व्यवहारिक र अभ्यस्त बनाउँदै लैजाने परम्परा नेपाली मौलिकता हो । यो महत्वपूर्ण नेपाली विशेषता हो । विकसित भएका ज्ञानलाई समय सापेक्ष थप सिकाइ र भोगाइले सुशोभित बनाउँदै प्राच्य विद्या वा विकसित ज्ञानलाई गुरु, विज्ञ, विद्वान्, ज्ञानी, ध्यानी आदिका माध्यमबाट सत्सङ्ग, गुरुकुल, आश्रम, विद्यालय, मठ, मन्दिर, विहारका माध्यम चेला, जिज्ञासु र शिष्यलाई सुनाउँदै भन्दै र प्रयोग गर्दै लिच्छविकालमा प्रशारण गरिएको पाइन्छ ।
“आन्वीक्षिकी त्रयी वार्ता दण्डनीतिश्चेति विद्याः ।” अर्थात विद्या आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति गरी चार थरीका हुन्छन् (शर्मा, २०७९) । आन्वीक्षिकी विद्याले आध्यात्म र दर्शनशास्त्रको बोध गराउँदछ । यस विद्याको बारेमा लिच्छविकालिन शिलालेखमा उल्लेख भएको देखिन्छ । त्यसैगरी बौद्ध दर्शन, शैव दर्शन, वैष्णव दर्शन आदिमा पनि आन्वक्षीकी विद्याबारे जानकारी प्रदान गरिएको पाइन्छ । साथै विविध तन्त्रविद्या, विहार, भिक्षुसङ्घ, गुरुकुल आदिमा आध्यात्म र दर्शनशास्त्रका विषयवस्तु परिभाषित गरिएको पाइन्छ । त्रयीले तीन वेदभित्रको विद्या र दण्डनीतिले राज्य परिचालन नीतिको जानकारी दिलाउँछ । कृषि, पशुपालन र वाणिज्यशास्त्रलाई वार्ता भनिन्छ । वार्ताशास्त्र आम्दानीका मुख्य स्रोत थिए । वार्ता वैश्यवृत्ति तथा आजीविकासित सम्बन्धित विषय हो । थानकोट आदिनारायणको लिच्छविकालिन राजा वसन्तदेवको अभिलेखमा कर व्यवस्था अर्थात वार्ताको बारेमा स्पष्ट उल्लेख गरिएको पाइन्छ । कामन्दीय नीतिसार १-१२ मा वार्ताशास्त्र लुप्त भयो भने मानिस जिउँदैं मर्छन् भनी शास्त्रकारहरुले उल्लेख गरेका छन् (वज्राचार्य, २०५३) । मानदेवको चाँगुनारायणस्थानको वि.स.५२१ को अभिलेख संस्कृत भाषामा राम्ररी दखल भएका, उच्च कविता–शक्ति भएका विद्वान्को रचनाशैली सुन्दर र विद्वत्तापूर्ण भएबाट त्यो समयमा विद्याको राम्रो उन्नति भएको मान्न सकिन्छ । राजा मानदेवले आफ्नो दरवारमा यस्ता विद्वानहरु राख्दथे र विद्वानहरुको कदर गर्दथे (जोशी, २०७७) ।
सनातनी परम्पराको प्रभाव, ज्ञानको गहिराइ, तर्क र संवाद ज्ञान परम्पराको महत्व दर्शाउने विषयवस्तु हुन् । गुरु–शिष्य परम्परा, संस्कृत भाषाको उपयोग, ब्राह्मीलगायत लिपिले लिच्छविकालिन समाजलाई सादगी र विनयशीलताको मार्गमा डोर्याउन खेलेको भूमिका नेपाली समाजको अर्को महत्वपूर्ण पक्ष भएको पाइन्छ । मानव समाजलाई नयाँ दिशा निर्देश गर्न ज्ञानले ठूलो भूमिका खेल्दै आएको छ ।
जयदेव द्वितीयको पशुपति शिलालेखमा सूर्यवंशमा लिच्छवि नामका व्यक्ति राजा भएको र यसैबाट लिच्छविवंश चलेको उल्लेख छ (वज्राचार्य, २०५३) । चाँगुको शक संवत् ३८६ को आधारमा अभिलेख भएका पहिलो लिच्छविवंशका राजा मानदेव भएको प्रमाणित गर्दछ (पन्त, २०८२) । त्यसपछि धेरै लिच्छवि शासकहरुले नेपालमा शासन गरे । वि.सं.१२५७ कार्तिकदेखि मल्ल थर जोडिएकाहरुको राज चल्यो र त्यो राज तीन पुस्तासम्म चल्यो । फेरी देव थरधारी राजा, मल्ल थरधारी युवराज हुने गरी सवा सय वर्ष जति राज्य चल्यो । स्थिति मल्लले एकलौटी शासन वि.सं.१४३७ बाट शुरु नगर्दासम्म कुनै न कुनै रुपमा लिच्छविकाल चलिरहेको थियो (पन्त, २०८२) । अभिलेख, शिलालेख, ताम्रपत्रमार्फत ज्ञान प्रणालीको क्रियाकलाप बुझ्न मद्दत गर्दछ । मूर्त, अमूर्त सम्पदा, कला, साहित्य, भाषा, लिपि, प्रविधि, मुद्रा, मुद्राक्षरले पनि विद्वत्भाव प्रदर्शन गरिरहेका हुन्छन् । धर्मग्रन्थ, पुराण, ठ्यासफूजस्ता विभिन्न स्रोतहरुद्वारा लिच्छविकालको ज्ञान प्रणाली सहजै अनुभव गर्न सकिन्छ । सनातनी परम्परा, बौद्ध दर्शन, जैन दर्शन, बोन दर्शन, मुन्दुमी दर्शन, गोरख दर्शन र यिनले विकास गरेको सैद्धान्तिक मूल्य मान्यता विद्या र विचारको प्रभाव लिच्छविकालमा टड्कारो रुपले परेको देखिन्छ । ऐतिहासिक र पौराणिक स्रोतहरुको विश्लेषण गर्दा प्राचीन समयदेखि कै ज्ञान लिच्छविकालमा प्रशारण भई आएको प्रमाणित हुन्छ ।
भर्तुहरि, नीतिशतक : ७० मा विद्या नै मनुष्यको सर्वोत्तम रुप तथा गुप्त धन हो, विद्याले नै भोग्य पदार्थहरु उपलब्ध गराउँछ, यश तथा सुख दिने र गुरुको पनि गुरु विद्या नै हो, विदेश यात्रामा विद्या नै बन्धु बान्धव जस्तो सुखदुःखमा साथी हुन्छ र भाग्य पनि यही नै हो, राजाबाट पनि विद्यालाई पूजा हुने गर्दछ, धन होइन, त्यसैले विद्या नभएको मान्छे पशुतुल्य हुन्छ भनिएको (वाशिष्ठ, २०७७) पाइनुले विद्या अर्थात ज्ञानको महत्व स्पष्ट हुन्छ । पूर्वीय विद्या परम्पराअनुसार नेपालमा प्राचीन समयदेखि नै परा विद्या र अपरा विद्याको रुपमा ज्ञान बाँडिने गरिन्थ्यो । लिच्छविकालमा पनि यो ज्ञान बाड्ने प्रचलन भएको देखिए पनि यो विषय अध्ययन तथा अनुसन्धानकै क्रममा छ । ज्ञान बाँढे बढ्छ भन्ने नेपाली उखान नै छ । ‘तैत्तिरीयशाखागोष्ठी’ जस्तै ‘भूमिच्छिद्र’ रुपका जग्गा ब्राह्मणहरुलाई अध्ययन, यज्ञ तथा तपोवनको रुपमा दिने चलन थियो । असल जग्गा ब्राह्मणलाई दिंदा पनि ‘भूमिच्छिद्र’ लेख्ने चलन थियो । यो एक न्याय नै कहलाउँथ्यो (वज्राचार्य, २०५३) । विद्वत् कार्यको लागि लिच्छविकालमा जग्गा दान दिने परिपाटी रहेको पाइन्छ । यो ज्ञानको एक महत्वपूर्ण पक्ष हो ।
सनातनी परम्पराको प्रभाव, ज्ञानको गहिराइ, तर्क र संवाद ज्ञान परम्पराको महत्व दर्शाउने विषयवस्तु हुन् । गुरु–शिष्य परम्परा, संस्कृत भाषाको उपयोग, ब्राह्मीलगायत लिपिले लिच्छविकालिन समाजलाई सादगी र विनयशीलताको मार्गमा डोर्याउन खेलेको भूमिका नेपाली समाजको अर्को महत्वपूर्ण पक्ष भएको पाइन्छ । मानव समाजलाई नयाँ दिशा निर्देश गर्न ज्ञानले ठूलो भूमिका खेल्दै आएको छ । मुख्यतः ज्ञान वा विद्या उत्पादन, विकास र प्रशारणको स्वरुप ज्ञान परम्पराका अंश हुन् । ज्ञान तथा विद्वत् परम्परामा गुरु, विद्वान, विज्ञ, अध्यापक, पण्डित, तत्ववेत्ता, आचार्य, उपाध्यायको महत्वपूर्ण भूमिका रहन्छ साथै राज्यको पनि उत्तिकै भूमिका हुन्छ । विद्वत् परम्परा लिच्छविकालिन समयको महत्वपूर्ण बौद्धिक तथा सामाजिक सम्पति हो ।
लिच्छविकालको ज्ञान परम्परामा प्राच्य ज्ञानको प्रभावले मानव पूर्खाको ऐतिहासिक देन भेट्न सकिन्छ । यस बारे गहन र वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । प्राचीन ज्ञान प्रणालीमा आधुनिक प्रविधिको समायोजन गरेर मानव समाजलाई नविन विकासको नयाँ दृष्टिकोण र मार्गदर्शन पेश गर्न सकिन्छ ।
लिच्छविकाल नेपालको राजनीतिक, सामाजिक, सांकृतिक, आर्थिक तथा ज्ञानको क्षेत्रमा ठूलो प्रगति गरेको कालखण्ड हो । लिच्छविकाल विद्वत्ताकै कारण उन्नत र विकसितकाल भएको मानिन्छ । प्राचीन ज्ञान पद्दती, विद्या हराउँदै जाने क्रममा लिच्छविकालको भाषा, लिपि, साहित्य, कला, शासन पद्धति, गोष्ठी परम्परा, सनातनी आदर्श लोप हुँदै गयो । यस परम्परामाथि खास रुपमा ध्यान पुर्याउन सकिएको पाइँदैन । यस विषयले विद्धता, प्राज्ञ, ज्ञानको पक्षमा नकारात्मक असर पर्दै आयो । विद्या र ज्ञानको अभावमा विद्वत् परम्परा लोप हुँदै जाने प्रकृयाले विज्ञताको ओझेल समाजमा पर्दै गयो र मानव समाजलाई बौद्धिक नोक्सान पनि पर्दै गयो । तसर्थ लिच्छविकालिन विद्वत् परम्परालाई ऐतिहासिक रुपमा बुझ्ने, बोध गर्ने र विद्वत् परम्परा अनुकुल नविन सैद्धान्तिक अवधारणा निर्माण गर्नुपर्ने नेपाली समाजको आवश्यकता हो ।
विद्वत् परम्पराको ह्रासले विद्वत्ताको नाश, विद्वत्ताका कारण विद्या तथा ज्ञानको जागरणमा कमी र अनि प्रभावले नेपाली समाजमा पार्ने ऐतिहासिक गत्यावरोधले इतिहासका विषय ओझेलमा पर्न गए । वर्तमान समयसम्म पनि यस्तो महत्वपूर्ण र दूरगामी अर्थ बोकेको लिच्छविकालिन समाजको ज्ञान परम्परा नेपालको मौलिक निधि भएकोले यसको अध्ययन र संरक्षण गरिनु अनिवार्य देखिन्छ । लिच्छविकालको ज्ञान परम्परामा प्राच्य ज्ञानको प्रभावले मानव पूर्खाको ऐतिहासिक देन भेट्न सकिन्छ । यस बारे गहन र वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । प्राचीन ज्ञान प्रणालीमा आधुनिक प्रविधिको समायोजन गरेर मानव समाजलाई नविन विकासको नयाँ दृष्टिकोण र मार्गदर्शन पेश गर्न सकिन्छ । आउनुहोस यस कार्यमा हातेमालो गरौं ।
लेखक : अध्यक्ष, इतिहास अनुसन्ध्यात्मक अध्ययन समाज ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?