चन्द्रागिरि–७ स्थित ज्येष्ठ नागरिक भवन दिवा सेवाको चौथो साधारण सभा सम्पन्न
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित ओमकारेश्वर ज्येष्ठ नागरिक भवन दिवा सेवाले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ । ज्येष्ठ नागरिकहरूको सम्मान, हकहित संरक्षण तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित दिवा सेवाले आज साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दिवा सेवाले वडाका जेष्ठ नागरिकप्रति गरेको व्यवहारको प्रशंसा गर्नुभएको थियो । ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा, सुविधा तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको नगरप्रमुख गिरीको भनाइ थियो । उहाँले ज्येष्ठ नागरिक नगर र देशकै सम्पत्ति भएकाले ज्येष्ठ नागरिकप्रति स्थानीय सरकारले गर्नुपर्ने हरेक सहयोग गर्न नगर तयार रहेको बताउनुभयो ।
नगरउपप्रमुख बसन्ती श्रेष्ठले ज्येष्ठ नागरिकलाई दयाभन्दा पनि पारिवारिक मायाको वातावरण दिन दिवा सेवालाई आग्रह गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानलाई समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड पनि जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । दिवा सेवाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?