काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन् ।
फेला परेका १ हजार ३ सय ४४ शवमध्ये ४ सय ८९ जना पुरुष, २ सय ६९ जना महिला, ५२ बालक र ३३ बालिका रहेको प्रहरीले जनाएको छ । अन्य ५ सय एक वटा शवका आंशिक अंगहरु फेला परेका छन्, जसको पहिचान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता हुनेमा ४ हजार ८ सय ९८ जनामध्ये २ हजार ९ सय ३० जना नेपाली र ६ सय १८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २ हजार ४ सय ४८ पुरुष र ४ सय ८२ महिला रहेका छन् । १ हजार ३ सय ५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६ सय ३१ जनाको जीवितै उद्धार गरेको छ भने उद्दार गरिएकाहरूमा ७ हजार ३ सय ८७ नेपाली र १ हजार २ सय ४४ विदेशी नागरिक रहेका छन् । विस्थापित भएका ३ हजार ६ सय ५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
खोज तथा उद्धार कार्यका लागि ७ हजार २ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन् ।
फेला परेका शवहरूमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि डिएनए संकलन कार्य पनि तीव्र पारिएको जनाइएको छ । हालसम्म १ हजार २ सय ६० मृतक र ९ सय ७२ मृतकका आफन्त गरी कुल २ हजार २ सय ३२ जनाको डिएनए नमुना संकलन गरिएको बताइएको छ । पहिचान हुन नसकेका १ हजार २ सय ७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?