भोटेकोशीमा बेपत्ता अनोजको परिवारले कुशको शव बनाएर गरे दाहसंस्कार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका मोरङको बेलबारी–९ का अनोज धमलाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि अनोज सम्पर्कविहीन भएका थिए । बाढीमा परी बेपत्ता भएपछि परिवारजनले उहाँको खोजी तथा अवस्था पत्ता लगाउने प्रयास गर्दै आए पनि हालसम्म अवस्था यकिन हुन नसकेपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा आज बेलबारीको लक्ष्मीमार्गस्थित स्थानीय घाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएका छन् । बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा पहिचानका लागि विभिन्न निकायले खोज तथा उद्धार अभियान संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?