श्रीकृष्ण जन्माष्टमीमा बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यस पर्वमा श्रद्धालुहरू पूजा–आराधना, भजनकीर्तन र व्रतका लागि मन्दिर पुगेका हुन् ।
काठमाडौं उपत्यकामा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरा–८ गोठाटारको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोनको कृष्णमन्दिर, पशुपति क्षेत्र तथा वसन्तपुरको कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । उपत्यकाका विभिन्न कृष्ण, नारायण तथा लक्ष्मीनारायण मन्दिरमा समेत श्रद्धालुको चहलपहल बढेको छ ।
वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा जन्माष्टमी मनाउने गर्छन् । धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको थियो । यस दिन भक्तजन व्रत बस्ने, राति जाग्राम गर्ने तथा कृष्णका विभिन्न लीलासम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गर्ने परम्परा छ ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय र अत्याचारविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ । महाभारतको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई ‘श्रीमद्भगवद्गीता’का रूपमा श्रद्धापूर्वक अध्ययन गर्ने गरिन्छ ।
जन्माष्टमीको अवसरमा विभिन्न स्थानमा श्रीकृष्णका झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा पनि छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले श्रीकृष्णको जन्म अष्टमीको मध्यरातमा हुने भएकाले त्यसको भोलिपल्ट अर्थात् नवमीका दिन रथयात्रा निकाल्ने चलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?