चन्द्रागिरिका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा बाढीपीडितलाई सहयोग
काठमाडौं । चन्द्रागिरि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समूहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि ५६ हजार ५ रुपैयाँ सहयोग गरेको छ ।
समूहमा आबद्ध चन्द्रागिरि नगरपालिकाभित्रका १४९ जना महिला स्वास्थ्य स्वयंसेविकाले संकलन गरेको रकम प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा कृषि विकास बैंकको भौचरमार्फत जम्मा गरिएको हो । समूहले रकम जम्मा गरेको भौचर चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेको छ ।
भौचर बुझ्दै नगरप्रमुख गिरीले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले पीडितको सहयोगमा सबैले आ–आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्ने बताउनुभयो । सानो–सानो सहयोगले ठूलो राहत जुटाउन सकिने उल्लेख गर्दै उहाँले विपद्को समयमा महिला स्वास्थ्य स्वयंसेविकाले देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।
नगरप्रमुख गिरीले स्वयंसेविकाहरूको मानवीय कार्यमा नगरपालिका सधैँ साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?