काठमाडौं । धानमा गाँज लाग्ने समय सुरु भएपनि बाँकेका किसानले आवश्यक रासायनिक मल पाउन सकेका छैनन् । समयमै मल नपाउँदा धानको उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ ।
खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भए पनि उपलब्ध हुन नसकेको बताउनुभयो । उहाँले विगतमा भारतको रुपैडिहाबाट सीमित मात्रामा मल ल्याउन सहज भएपनि यसपटक एक बोरा पनि ल्याउन नदिँदा किसान थप समस्यामा परेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले धानको गाँज लाग्ने र बाला पसाउने समयमा पर्याप्त पोषण आवश्यक पर्ने बताउनुभयो । समयमै मल नपाउँदा उत्पादनमा उल्लेख्य कमी आउन सक्ने उहाँको भनाइ छ ।
यस वर्ष बाँकेमा ३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ भएको छ, जुन जिल्लाको कुल धान खेती हुने क्षेत्रफलको ९९ दशमलव ८ प्रतिशत हो । गत वर्ष एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले किसानको मागअनुसार मल प्राप्त हुन नसकेकाले अभाव देखिएको बताउनुभयो । चालु आर्थिक वर्षको भदौ १५ गतेसम्म स्थानीय तहमा एक हजार १७ मेट्रिकटन युरिया, २९९ दशमलव ४ मेट्रिकटन डिएपी र २७ दशमलव ३५० मेट्रिकटन पोटास पठाइएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?