चन्द्रागिरि–७ का तीन जनाको अवस्था अझै अज्ञात, खोजीमा निस्किए जनप्रतिनिधि भुवनकुमार केसी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा प्रभावित परिवारलाई आवश्यक समन्वय र सहयोगका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ७ का जनप्रतिनिधि भुवनकुमार केसी आफैं प्रभावित क्षेत्रमा पुगेर सक्रिय भएका छन् ।
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याउनुका साथै विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । यही अवस्थामा चन्द्रागिरि–७ बाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीलाई प्राथमिकता दिँदै केसी प्रभावित क्षेत्रमा पुगेका हुन् ।
अहिलेसम्म चन्द्रागिरि नगरपालिका–७ बाट राजेश खत्री, सुस्मिता कुँवर र श्रीशान्त कार्की सम्पर्कविहीन रहेका छन् । खत्रीले चलाएको बा.१६ प ३८३८ नम्बरको गाडी क्षतविक्षत अवस्थामा भेटिए पनि उनको अवस्था अझै अज्ञात छ । यस्तै कुँवर र कार्कीको पनि अवस्था अज्ञात नै छ । उनीहरूको अवस्थाबारे जानकारी लिन तथा सम्भावित स्थानमा खोजी कार्य अघि बढाउन केसीले सम्बन्धित पक्षसँग समन्वय गर्दै प्रकाश क्षेत्री, उमेश थापा, शिव तामाङसहित स्वयं प्रभावित क्षेत्रमा पुगेर खोजीमा जुटेपछि परिवारलाई केही राहत र भरोसा मिलेको छ ।
विपद्को समयमा कार्यालय वा औपचारिक प्रक्रियामा मात्र सीमित नरही प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा खोजी तथा समन्वयमा खटिनुलाई स्थानीयले जनप्रतिनिधिको जिम्मेवार र मानवीय भूमिकाका रूपमा लिएका छन् । केसीले सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि सम्भावित स्थानको जानकारी संकलन गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा प्रभावित परिवारसँग निरन्तर सम्पर्कमा रहने काम गरिरहेका छन् ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिनुपर्ने अवस्था रहेको छ । यस्तो कठिन परिस्थितिमा आफ्नो क्षेत्रका नागरिकको अवस्था बुझ्न र सम्पर्कविहीनको खोजीमा प्रत्यक्ष रूपमा खटिएका केसीको सक्रियताले विपद्का बेला जनप्रतिनिधिको भूमिकालाई थप अर्थपूर्ण बनाएको छ ।
सम्पर्कविहीन तीनै जनाको खोजी कार्यलाई निरन्तरता दिइने र आवश्यक समन्वयका लागि आफू सक्रिय रहने केसीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?