ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा आएपछि राहत तथा उद्धारमा सहज
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात संचालनमा आएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन संचालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा आवागमन सहज भएको हो ।
भोटेकोशी बाढीले क्षतिग्रस्त सडक तथा डुबानमा परेका बस्तीमा यातायात संचालन गर्न जिल्ला विपद् व्यवस्थापन समितिले प्राथमिकताका साथ काम अघि बढाएको छ ।
ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानका कारण भएको अवरोध हटाएर आवागमन सहज बनाइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
सडक संचालनमा आएपछि प्रभावित क्षेत्रमा शव व्यवस्थापन, क्षति हुन बाँकी घरबाट सामग्री सुरक्षित स्थानमा सार्न तथा बेत्रावतीसम्म आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो ।
ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक संचालन गर्न सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति परिचालन गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पनि अत्यावश्यक सहयोग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?