काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि राहत तथा आर्थिक सहयोग संकलन गर्दा हुन सक्ने दुरुपयोग रोक्न म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा रकम संकलन गर्न नदिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक बैंक खाता तथा क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले व्यक्तिगत वा संस्थागत खाताको नम्बर तथा क्युआर कोड सार्वजनिक गरी राहतका नाममा रकम संकलन नगर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले इच्छुक व्यक्ति तथा संस्थालाई संकलित रकम सिधै सरकारको आधिकारिक खातामा जम्मा गर्न आग्रह गर्नुभयो ।
बैठकले जिल्लामा प्राप्त हुनसक्ने राहत सामग्रीको विवरण तयार पार्ने तथा तत्काल राहत सामग्री संकलन नगर्ने निर्णयसमेत गरेको छ । राहत वितरणलाई व्यवस्थित बनाउन र सहयोगको रकम तथा सामग्री दुरुपयोग हुन नदिन यस्तो निर्णय गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।
यसैबीच, रसुवाको भोटेकोशी बाढीमा परी म्याग्दीका दुई जना बेपत्ता भएका छन् भने तीन जना सम्पर्कमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?