काठमाडौं । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरीधाम अब धर्मकर्मका लागि मात्रै होइन, व्यवस्थित मृत्यु संस्कारका लागि पनि सहजस्थल बनेको छ । वर्षौँदेखि पानीको अभाव र बर्खामा खोलाको बढ्दो बहावका कारण जोखिमपूर्ण रूपमा हुँदै आएको दाहसंस्कार अहिले व्यवस्थित आर्यघाट निर्माण भएपछि सहज र सुरक्षित बनेको हो ।
गोदावरी, धनगढी, गौरीगङ्गा, चुरे तथा कञ्चनपुरको कृष्णपुरलगायत क्षेत्रबाट दैनिक करिब सात–आठवटा शव दाहसंस्कारका लागि गोदावरी ल्याउने गरिन्थ्यो । तर, व्यवस्थित आर्यघाट नहुँदा शोकमा रहेका परिवारले मृतकको अन्तिम संस्कारमा समेत अनेक समस्या झेल्दै आएका थिए ।
हिन्दू संस्कारअनुसार दाहसंस्कारका लागि पानी आवश्यक पर्ने भए पनि हिउँदमा गोदावरी खोलामा पानीको अभाव हुने र वर्षायाममा खोलाको बहाव बढ्दा दाहसंस्कार गर्न जोखिम हुने गरेको थियो । बाढी आएका बेला शव जलाउँदै गरेका परिवारले समेत सुरक्षित स्थान खोज्नुपर्ने अवस्था थियो ।
गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले समस्या समाधानको लागि विशेष पहल गरेसँगै अहिले घाटमा अन्तिम संस्कार गर्न सहज भएको छ । उहाँले निरन्तरको पहलपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजना, गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा व्यवस्थित आर्यघाट निर्माण गर्न सफल भएको बताउनु भयो । गत वैशाख १२ गतेदेखि आर्यघाट औपचारिक रूपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।
आर्यघाट निर्माणमा पर्यटन पूर्वाधार विकास आयोजनाको दुई करोड, गोदावरी नगरपालिकाको २४ लाख र सुदूरपश्चिम प्रदेश सरकारको एक करोड रुपैयाँ गरी कुल तीन करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यहाँ एकैपटक सातवटा शवको दाहसंस्कार गर्न सकिने छ ।
दाहसंस्कारका क्रममा पानीको अभाव नहोस् भनेर दुईवटा बोरिङ निर्माण गरिएको छ । दाहस्थल सफा गर्न सातवटा पानीका पाइपलाइन जडान गरिएको छ भने पाँच लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । मलामीले नुहाउनका लागि ११ वटा धारा राखिएका छन् ।
मृतकका आफन्तका लागि चारकोठे किरियापुत्री घरसमेत निर्माण गरिएको छ । वर्षायाममा खोलाको बहावबाट आर्यघाटलाई जोगाउन ग्याबिन जालीवाल निर्माण गरिएको छ । सरसफाइ तथा आवश्यक व्यवस्थापनका लागि एक जना कर्मचारीलाई कार्यस्थलमै खटाइएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?