काठमाडौं–हेटौंडा आवागमनका लागि नयाँ रुट, ठूला सवारीलाई त्रिभुवन राजपथ
काठमाडौं । भोटेकोशी बाढीपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भएपछि काठमाडौं र हेटौंडाबीच सवारी आवागमन सहज बनाउन प्रहरीले आजदेखि वैकल्पिक रुट निर्धारण गरेको छ ।
नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुबाहक सवारीसाधन हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जानुपर्नेछ । काठमाडौंबाट हेटौंडा फर्किने क्रममा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीले काठमाडौंबाट हेटौंडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ ।
कान्ति राजमार्ग हुँदै हेटौंडा आउने यात्रुबाहक सवारीसाधनले साँझ ६ बजेभित्र ठिङ्गन प्रहरी चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । त्रिखण्डीस्थित बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीलाई पुलको सट्टा छेउको डाइभर्सन प्रयोग गर्न भनिएको छ ।
प्रहरीले विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, पालोअनुसार सवारी चलाउन, ओभरटेक नगर्न तथा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
यसैबीच, पृथ्वीराजमार्गको बेनिघाट रोराङ–७ कृष्णभीर र धादिङको गजुरी–२ परेवाभिरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?