काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवमध्ये हालसम्म २८० शवको फरेन्सिक परीक्षण र डीएनए नमुना संकलन गरी सुरक्षित व्यवस्थापन गरिएको छ ।
भरतपुर अस्पतालमा शव ल्याएर फरेन्सिक परीक्षण, डीएनए तथा अन्य जैविक नमुना संकलन र अभिलेखीकरण गरेपछि चितवनको देवघाटस्थित व्यवस्थापनस्थलमा शव राख्ने गरिएको छ । यसबाट भविष्यमा पहिचान खुल्न सक्ने गरी आवश्यक प्रमाण सुरक्षित रहने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव फेला परेको जनाएको छ । तीमध्ये १२ शवको पहिचान भई आफन्तले बुझिसकेका छन् । फेला परेकामध्ये ६६ महिला, ११६ पुरुष, सात बालक र छ बालिका छन् भने १२६ शवको पहिचान वा अवस्था अझै खुल्न सकेको छैन ।
देवघाटमा भदौ १३ गते ९६, १४ गते १०३ र १५ गते ८१ शव व्यवस्थापन गरिएको हो । नदी तथा नदी किनारमा शव खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ ।
फेला परेका शवलाई अस्पतालमा परीक्षण तथा नमुना संकलनपछि मात्रै सुरक्षित व्यवस्थापन गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?