पहिचान नभएका बाढीपीडितका शव वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका तर हालसम्म पहिचान हुन नसकेका शवलाई आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेर जमीनमुनि व्यवस्थापन गरिने भएको छ ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ जनाको पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।
पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिने र अन्य आवश्यक परीक्षण पूरा गरेपछि निर्देशिकाअनुसार व्यवस्थापन गरिने उहाँले बताउनुभयो । भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा शवको विवरण र नमुनाका आधारमा आफन्तलाई पहिचान गर्न सकिने व्यवस्था मिलाइनेछ ।
बाढीले शवलाई विभिन्न जिल्लासम्म पुर्याएको र कतिपय शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा कठिनाइ भएको छ । आफन्तलाई शवका तस्बिर देखाएर पहिचान गराउने व्यवस्था मिलाइएको छ भने अस्पताल परिसरमा सहायता कक्षसमेत संचालन गरिएको छ ।
पोखरा ल्याइएका शवमध्ये नवलपुरका ४१, धादिङका २७, तनहुँका २३ र गोरखाका ११ रहेका छन् । ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएको जनाइएको छ । शव पहिचानका लागि पोखरा पुगेका आफन्तलाई खाना र बसोबासको व्यवस्था पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?