काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धादिङबेँशीबाट विभिन्न गन्तव्यमा यातायात संचालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार, धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखा–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने मार्गलाई अस्थायी रुट तोकेको हो ।
यीमध्ये करिब ३६ किलोमिटर लामो धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडक तत्काल यातायात संचालनका लागि प्रभावकारी देखिएको छ । सडकका केही खण्ड कालोपत्रे भएपनि कतिपय स्थान स्तरोन्नतिको क्रममा छन् । केही भागमा तत्काल मर्मत तथा स्तरोन्नति र कोशीखोलामा बेलिब्रिज आवश्यक रहेको जनाइएको छ ।
समितिले वैकल्पिक सडकलाई तत्काल संचालनयोग्य बनाउन सम्बन्धित कार्यालयलाई आकस्मिक मर्मत तथा स्तरोन्नतिको जिम्मेवारी दिएको छ । पूर्वाधार विकास कार्यालय धादिङ, सडक डिभिजन नुवाकोट र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई छुट्टाछुट्टै सडकको जिम्मेवारी तोकिएको हो ।
बाढीले धादिङबेँशीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक तथा पुलमा क्षति पुगेपछि जिल्लामा यातायात सेवा सहज बनाउन यी वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?