काठमाडौं । सुदूरपश्चिमको प्रमुख मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन भाद्र शुक्ल पञ्चमीका अवसरमा घरघरमा पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर बनाइने बिरुडा भिजाउने परम्परा पूरा गरिएको छ ।
व्रतालु महिलाले तामा वा अन्य भाँडोमा मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गर्छन् । गौरीको प्रसादका रूपमा लिइने बिरुडा पर्वका विभिन्न पूजाआजामा प्रयोग गरिन्छ । बिरुडा भिजाउने क्रममा डोटेली भाषाका सगुन तथा फाग गाउने चलनसमेत रहेको छ ।
गौरा पर्वमा महिलाले शुद्धता र व्रतको परम्परा पालना गर्दै दुबधागो धारण गर्ने चलन छ । यसलाई महिलाको धार्मिक संस्कारसँग जोडेर हेर्ने गरिन्छ । षष्ठीका दिन बिरुडा पखाल्ने र सप्तमीमा साउँको प्रयोग गरी गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने परम्परा छ ।
अष्टमी अर्थात् गौराष्टमी पर्वको मुख्य दिन मानिन्छ । यस दिन गौरीको विशेष पूजाआजा गरी अठवाली, चैत, धमारीलगायतका परम्परागत गीतसहित गौरा नचाउने गरिन्छ । यही अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा, डुस्को र धुमारी खेल्ने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ ।
पार्वतीलाई गौरी अर्थात् गौरादेवीका रूपमा पूजा गर्ने यस पर्वले परिवारको सुख, शान्ति, समृद्धि तथा श्रीमान् र आफन्तको दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता बोकेको छ । परम्पराअनुसार शुक्ल पक्षमा पर्ने गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?