महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि चन्द्रागिरिका नगरप्रमुख गिरीद्वारा धन्यवाद ज्ञापन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. १० बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा निर्वाचित चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आफूलाई विजयी गराउने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गिरीले आफूलाई अमूल्य मत प्रदान गरी विश्वास र समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिहरूप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका हुन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई सबैको साझा विजयका रूपमा लिएको बताएका छन् ।
गिरीले आफूलाई प्राप्त मत र विश्वाससँगै निर्वाचनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने, हौसला प्रदान गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आफूले पाएको विश्वासलाई आगामी दिनको जिम्मेवारीका रूपमा आत्मसात् गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘यो मेरो मात्र विजय होइन, हामी सबैको विजय हो’ भन्दै गिरीले क्षेत्रीय प्रतिनिधिहरूले आफूलाई दिएको विश्वास, माया, सद्भाव र भरोसालाई सदैव सम्मान गर्ने बताएका छन् । आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबैको भावना, सुझाव र अपेक्षालाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
नगर प्रमुख गिरीले संगठन सुदृढीकरणसँगै जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता समते व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?