काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ निवासी हाइड्रो इलेक्ट्रीक उद्यमी मोहनलाल श्रेष्ठले वडा अध्यक्ष शैक्षिक विकास कोषलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले कोषका अध्यक्ष मोहनहरी आचार्यमार्फत उक्त रकम हस्तान्तरण गर्दै कोषको आजीवन सदस्यता ग्रहण गर्नुभएको हो ।
श्रेष्ठ कोषको १८१औँ आजीवन सदस्य बन्नुभएको छ । आर्थिक अभावले उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन सक्ने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले संचालन हुँदै आएको कोषको छात्रवृत्ति अभियानमा श्रेष्ठको योगदान थपिएको हो ।
कोषले जानकारी दिएअनुसार हाल कक्षा ११ मा २४ जना र कक्षा १२ मा २८ जना गरी ५२ विद्यार्थी विभिन्न उच्च माध्यमिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।
चन्द्रागिरि नगरपालिकामा शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न व्यक्ति तथा समुदायबाट प्राप्त सहयोगमार्फत छात्रवृत्ति कार्यक्रम संचालन हुँदै आएको छ । यसअघि पनि कोषले एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको सार्वजनिक विवरणमा उल्लेख छ ।
कोषका पदाधिकारीले शैक्षिक अभियानमा जोडिनुभएका श्रेष्ठ तथा उहाँको परिवारप्रति आभार व्यक्त गरेका छन् । शिक्षा प्राप्त गर्ने अवसरबाट कुनै विद्यार्थी आर्थिक अभावका कारण पछाडि नपरोस् भन्ने उद्देश्यमा यस्ता सहयोगले अभियानलाई थप बल पुग्ने कोषको विश्वास छ ।
शैक्षिक विकासमा समुदायको सहभागितालाई प्राथमिकता दिँदै अघि बढेको कोषमा आजीवन सदस्य तथा अन्य सहयोगीबाट प्राप्त योगदानलाई विद्यार्थीको अध्ययनमा केन्द्रित गर्ने गरिएको छ । आर्थिक सहयोगमार्फत विद्यार्थीको भविष्य निर्माणमा हातेमालो गर्ने अभियान विस्तार हुँदै गएको कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?