काठमाडौं । निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो ।
तीन वर्ष अर्थात् वि.सं. २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो ।
सडक विभागका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । समयसीमाभित्र काम नगरेपछि पछिल्लो पटक २०८१ वैशाख २० गते विभागीय निर्णयानुसार २३ महिना २५ दिन म्याद थप गरिएको थियो । निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको विभागले जनाएको छ ।
पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ११ करोड सात लाख ४२ हजार दुई सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलको तीन वटा पिल्लर उठाउनाका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?