काठमाडौं । भारतीय राजदूतावासमा आयोजित हिन्दी कविता वाचन समारोहमा निर्विका लम्साल प्रथम भएकी छन् । राजदूतावासअन्तर्गत संचालित केन्द्रीय विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थीबीच भएको कविता वाचनमा लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गरेकी हुन् ।
लम्सालले कवि हरिवंशराय बच्चनको चर्चित कविता ‘दोस्ती’ वाचन गरेकी थिइन् । समारोहमा प्रथम भएकी लम्साललाई कार्यवाहक भारतीय राजदूत डा. राकेश पाण्डेले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार ग्रहण गर्दै लम्सालले कविता तथा साहित्यप्रतिको आफ्नो रुचिलाई थप अघि बढाउने अवसरका रूपमा यस उपलब्धिलाई लिएको बताइन् ।
भारतीय राजदूतावास परिसरस्थित विवेकानन्द हलमा आयोजित कार्यक्रममा केन्द्रीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीले हिन्दी भाषाका कविता प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
विद्यालय तहबाटै कविता, भाषा र साहित्यप्रति विद्यार्थीको रुचि बढाउने उद्देश्यले आयोजना गरिएको यस्तो कार्यक्रमले सिर्जनशील प्रतिभालाई मञ्च प्रदान गरेको दुताबासले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?