काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामेमा थुनिएको मर्स्याङ्दी नदीको बहाव सहज बनाउन नेपाली सेनाको प्राविधिक टोलीले स्थलगत अध्ययन थालेको छ । चामेस्थित तातोपानी कुण्ड आसपास पहिरो र लेदोसहितको माटो थुप्रिएपछि नदीको प्राकृतिक बहाव रोकिएको हो ।
नदी थुनिएपछि बनेको तालको पानी आसपासका संरचना र बस्तीमा पस्ने जोखिम बढेको थियो । जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको थियो भने मौसममा सुधार आएपछि उनीहरू घर फर्किन थालेका छन् । पछिल्लो समय नदीमा पानी आंशिक रूपमा बग्न थाले पनि नदीको बहाव पूर्णरूपमा सहज बनाउने प्रयास जारी छ ।
जिल्ला प्रशासन कार्यालयले थुनिएको भाग सुरक्षित ढंगले खुलाउन प्राविधिक उपायबारे अध्ययन भइरहेको छ । यसका लागि नेपाली सेनाको प्राविधिक तथा विस्फोट व्यवस्थापनसम्बन्धी टोली परिचालन गर्ने तयारी गरिएको थियो । नदी थुनिएको स्थानसम्म सडक सम्पर्कसमेत प्रभावित भएकाले आवश्यक उपकरण पुर्याएर काम अघि बढाउन चुनौती रहेको प्रशासनले जनाएको छ ।
आइतबार ठाडो र घट्टे खोलामा आएको बाढी तथा पहिरोले चामे क्षेत्रमा सडक, पुल र घरमा समेत क्षति पुर्याएको थियो । घट्टे खोलातर्फबाट आएको लेदो, ढुङ्गा र माटो मर्स्याङ्दीमा थुप्रिएपछि नदीको बहाव साँघुरिएको हो । त्यसपछि नदीमा पानी जम्न थालेको थियो ।
नदीको पानीको सतह घट्दै गएपनि तटीय क्षेत्रका बासिन्दालाई अझै सतर्क रहन आग्रह गरिएको छ । पहिरोले थुपारेको लेदो तथा नदीको धार परिवर्तन भएका कारण वर्षा पुनः बढेमा जोखिम दोहोरिन सक्ने भएकाले प्रशासन र सुरक्षा निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन् ।
मर्स्याङ्दीको बहाव सहज बनाउने कामसँगै चामे र आसपासका क्षेत्रमा बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधारको अवस्था पनि मूल्यांकन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?