प्रतिनिधिसभामा आज पाँच विधेयक पेश हुँदै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न पाँच विधेयक तथा समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधिसभाको बैठकसँगै आज अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विधेयक तथा संसदीय कामकारबाही अघि बढाउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?