काठमाडौं । लगातारको वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ । बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुगेपछि तत्कालका लागि स्नान सेवा बन्द गरिएको छ ।
तीनवटा पोखरीमध्ये उपचारका लागि प्रयोग हुँदै आएको ठूलो तथा माथिल्लो पोखरीमा बाढी पस्दा बाक्लो हिलो र लेदो थुप्रिएको छ । पर्यटकका लागि बनाइएको अर्को सानो पोखरीसमेत बाढीले भत्काएको छ । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण ट्याङ्की राखिएको संरचना र खुला स्नानस्थल पहिरोले पुरिँदा कुण्डको भौतिक संरचनामा क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
कुण्ड व्यवस्थापन समितिले मंगलबारदेखि स्थानीयवासीको श्रमदानमार्फत पोखरीमा थुप्रिएको हिलो र लेदो हटाउने निर्णय गरेको छ । प्राकृतिक उपचार तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित कुण्डको पुनःस्थापना र मर्मतका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको अपेक्षा गरिएको समितिका सदस्य मीना जुग्जालीले बताउनुभयो ।
म्याग्दीको प्रमुख पर्यटकीय तथा प्राकृतिक उपचारस्थलमध्ये एक सिंगा तातोपानीमा हरेक वर्ष देशका विभिन्न जिल्लासहित विदेशबाट समेत करिब २० हजार मानिस आउने गरेको समितिको भनाइ छ । म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी र वीरेनुनको गन्धका कारण कुण्डमा स्नान गर्न आउनेको आकर्षण रहँदै आएको छ ।
कुण्डको मुख्य स्नान याम असोज–कात्तिकबाट सुरु हुने भएकाले यही समयमा कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत प्रभावित भएको छ। होटल, रेस्टुरेन्ट तथा होमस्टे व्यवसायीमा पर्यटक तथा सेवाग्राहीको आगमन घट्ने चिन्ता बढेको छ ।
कुण्डमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकसम्बन्धी समस्यामा राहत मिल्ने जनविश्वास छ । यही विश्वासका कारण वर्षेनी टाढाटाढाबाट सेवाग्राही यहाँ आउने गरेका छन् । तर यसपटक प्राकृतिक विपत्तिले उपचार र पर्यटनको यो गन्तव्यलाई नै केही समयका लागि मौन बनाएको छ ।
स्थानीयवासी भने श्रमदानबाटै कुण्डमा थुप्रिएको हिलो र लेदो हटाएर सेवा पुनः संचालन गर्ने तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?