काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ को असोज मसान्तभित्र कर तथा बक्यौता रकम बुझाउने करदातालाई विभिन्न छुट सुविधा दिने भएको छ ।
नगरपालिकाले आर्थिक ऐन, २०८३ को अनुसूची–१२ बमोजिम चालु आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र अर्थात् असोज मसान्तसम्म सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय कर तथा घरजग्गा बहाल कर बुझाएमा करको कुल रकममा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार तोकिएको समयभित्र कर बुझाउने करदाताले आफ्नो कर दायित्वमा लाग्ने रकममा उक्त छुट प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाले नगरपालिकाभित्र नियमित रूपमा कर तिर्दै आएका करदातालाई समयमै कर दाखिला गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, विगतदेखि नै नियमित रूपमा सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय कर तथा घरजग्गा बहाल कर नबुझाई बक्यौता रहेका करदाताका लागि पनि नगरपालिकाले विशेष छुटको व्यवस्था गरेको छ । बक्यौता रकममा लाग्ने दण्ड तथा जरिवानामा शतप्रतिशत छुट प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले असोज मसान्तभित्र सम्बन्धित कर तथा बक्यौता रकम बुझाई उपलब्ध छुट सुविधाको लाभ लिन सबै करदातालाई आग्रह गरेको छ । समयसीमाभित्र कर बुझाएमा निर्धारित छुट प्राप्त गर्न सकिने भएकाले नगरपालिकाले करदातालाई समयमै आफ्नो कर दायित्व पूरा गर्न अनुरोध गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीद्वारा जारी सूचनामा कर छुटसम्बन्धी व्यवस्था सार्वजनिक गरिएको हो । सूचना अनुसार छुट सुविधा चालु आर्थिक वर्ष २०८३÷०८४ को असोज मसान्तसम्म लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?