हिमपहिरोमा बेपत्ता थप दुई जनाको शव फेला, मृतकको संख्या चार पुग्यो
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ नेपालीमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु गाउँमा आइपुगेका थिए । बाँकी १२ जना भने हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए ।
यसअघि उद्धार गरिएका दुई शव संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का करिब ३१ वर्षीय पासाङ भोटेको रहेको खुलेको छ । ती शवलाई प्रदेश अस्पताल चामेबाट हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।
यसैबीच, सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई शव उद्धार गरी प्रदेश अस्पताल चामेमा ल्याइएको छ । ती दुवै शवको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार हिम्लुङ बेस क्याम्प कार्यालयबाट पैदल करिब तीन दिन उत्तरतर्फको दूरीमा रहेको छ । घटनामा अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?