काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो परिवार तथा निवासको सुरक्षामा थप ध्यान दिन प्रहरीसँग आग्रह गरेका छन् ।
राणाका तर्फबाट उनका छोरा सच्चिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन माग गरेका हुन् । २०८३ असोज १९ गते आइतबार दिइएको निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही शान्ति–सुरक्षासम्बन्धी विषयका कारण परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।
निवेदनमा राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेको न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको जनाइएको छ । साथै, केही समयअघि प्रहरी कार्यालयमा गएपछि आफूले विभिन्न विषयबारे जानकारी पाएको र त्यसपछि सुरक्षा थप आवश्यक ठानेको उल्लेख छ ।
राणाका तर्फबाट बुझाइएको निवेदनमा आफ्नो परिवार तथा निवासको सुरक्षा र जिउज्यानको सुरक्षामा राज्यका सुरक्षा निकायले विशेष ध्यान दिन आग्रह गरिएको छ । निवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आवश्यक सुरक्षा व्यवस्थाका लागि पेश गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?