पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा भाडा नबढाउने महासंघको प्रतिवद्धता
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सोमवारको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पार्नुभएको हो ।
बैठकमा अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै सवारी साधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । उहाँले चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।
अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजनमा (रिजर्भ) नपठाउन पनि व्यवसायीहरूलाई निर्देशन दिइएको बताउनुभयो । साथै लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढे पनि सरकारले नागरिकको हितका लागि घाटा सहेर भएपनि मूल्य स्थिर राख्नुपर्ने उहाँको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?