काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बांगेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।
यस्तै, पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बांगेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
कान्तिलोकपथअन्तर्गत ठिंगन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।
यता, काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?