काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्कोे)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ । आयोग, सूचनाको हकका अभियानकर्मी तथा आमसञ्चारमाध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढाउन प्रयास भइरहेको आयोगले जनाएको छ ।
सूचनाको हकलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले जोड दिँदै आएको छ । नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको महासंघको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?