मध्यपहाडी लोकमार्गको पुलमा क्षति, बागलुङको सडक सम्पर्क प्रभावित
काठमाडौं । अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुलमा क्षति पुर्याएपछि बागलुङको बाहिरी जिल्लासँगको सडक सम्पर्क प्रभावित भएको छ ।
बाढीको तीव्र बहावले पुलको पर्वततर्फको पिल्लरमा क्षति पुर्याएपछि पुलबाट सवारीसाधन तथा पैदल यात्रुसमेत आवतजावत गर्न नसक्ने अवस्था बनेको हो । आइतबार बिहानदेखि पुलमा आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल बागलुङसँगै पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्वपूर्ण मार्ग हो । पुलमा क्षति पुगेपछि बागलुङ हुँदै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनसमेत प्रभावित भएका छन् ।
पुलमा आवागमन रोकिएपछि बागलुङ प्रवेश गर्ने र जिल्ला बाहिर जाने यात्रु समस्यामा परेका छन् । लगातारको वर्षा र विभिन्न स्थानमा आएको बाढीपहिरोले यस क्षेत्रका अन्य सडकसमेत प्रभावित रहेकाले यातायात सहज हुन थप चुनौती देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?