काठमाडौं । कालीगण्डकीको बाढीले फाइबर जडित पोल बगाएपछि धवलागिरिका म्याग्दी, बागलुङ र मुस्ताङमा आइतबार बिहानदेखि सञ्चार सेवा प्रभावित भएको छ । बाढीले पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा विद्युत्, नेपाल टेलिकम तथा निजी इन्टरनेट सेवा प्रदायकका फाइबर जडित पोल बगाएपछि तीन जिल्लाको सञ्चार सम्पर्कमा समस्या आएको हो ।
बाढीले करिब पाँच सय मिटर फाइबर जोडिएका चारवटा पोल बगाएको नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले जानकारी दिनुभयो । पोल बगेपछि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेटसँगै निजी कम्पनीका इन्टरनेट सेवा पनि अवरुद्ध भएका छन् ।
पौडेलले नेपाल टेलिकमको फाइबरबाट अन्य दूरसञ्चार सेवा प्रदायकले समेत सेवा संचालन गर्दै आएका छन् । वैकल्पिक व्यवस्था गरेर मोबाइल सेवा अस्थायी रूपमा संचालन गर्न सकिए पनि इन्टरनेट सेवा पुनः संचालनका लागि नयाँ पोल गाडेर तार तान्नुपर्ने भएकाले तत्काल काम अघि बढाउन कठिन भएको छ ।
कालीगण्डकीले पर्वतको मालढुङ्गामा मोटरेबल पुलको पहुँचमार्गसमेत बगाएकाले प्राविधिक टोली सहश्रधारा पुगेर फाइबर मर्मत गर्न नसकेको पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?