काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउन विभिन्न स्थानमा पहिरो पन्छाउने काम तीव्र पारिएको छ । बाढीले सडक कटान गर्नुका साथै कतिपय ठाउँमा डाइभर्सनसमेत बगाएपछि राजमार्गमा यातायात संचालन प्रभावित भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहित खसेको पहिरो हटाउने काम तीब्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गकै कृष्णभिरमा खसेको पहिरो भने हटाइएपछि एकतर्फी रूपमा सवारी संचालन गर्न सकिने अवस्था बनेको छ । तर चालिसे र बाङ्गेमोडमा पहिरो पूर्णरूपमा नहटिसकेकाले राजमार्गमा नियमित यातायात सहज हुन सकेको छैन । थप वर्षा भए माथिबाट पुनः पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, वर्षाका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ । बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध भएको छ । कान्ति लोकपथको ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको छ ।
काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन संचालनमा छन् । ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो संचालन गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
लगातार वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । अवरुद्ध सडक जबर्जस्ती पार नगर्न र सम्भव भएसम्म अनावश्यक यात्रा नगर्नसमेत अनुरोध गरिएको छ ।
वर्षाले उपत्यका भित्रिने र बाहिरिने प्रमुख सडकमार्ग प्रभावित भएपछि लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने कामसँगै मौसम र सडकको जोखिमलाई ध्यानमा राखेर यातायात व्यवस्थापन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?