काठमाडौं । निरन्तरको वर्षासँगै खसेको पहिरोले चितवनका दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात प्रभावित भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।
यसैगरी पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षा नरोकिँदा सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा सवारीसाधन जोखिममा परेका छन् । राजमार्गमा पहिरो खसेपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुले सास्ती खेप्नुपरेको छ ।
प्रहरीले अवरुद्ध सडकखण्डमा पहिरो पन्छाउने काम भइरहेको र सडक खुलाएर यातायात संचालनमा ल्याउने प्रयास जारी रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?