काठमाडौं । लगातारको वर्षासँगै पहिरो खसेपछि लमजुङको बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेपछि मनाङ जोड्ने महत्वपूर्ण सडकखण्डमा यातायात ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले पहिरो खसेको स्थानभन्दा करिब २ सय मिटर उत्तरतर्फ सडकसमेत भासिएको जानकारी दिनुभयो । पहिरो र सडक भासिएको दुईतर्फी जोखिमका कारण तत्काल सडक संचालन गर्न कठिन भएको प्रहरीले जनाएको छ ।
लगातार पानी परिरहेकाले पहिरो पन्छाउने तथा भासिएको सडक मर्मत गर्ने काममा समेत समस्या भएको छ । वर्षा रोकिएपछि मात्र सडकको अवस्थाको विस्तृत निरीक्षण गरी पहिरो हटाउने र सडक मर्मतको काम अघि बढाउन सहज हुने बताइएको छ ।
बेँसीसहर–चामे सडक लमजुङलाई मनाङसँग जोड्ने प्रमुख सडकमार्ग हो । यस सडकमा वर्षायाममा पहिरो र सडक भासिने समस्या दोहोरिँदै आएको छ । पछिल्लो समय पनि खरखरेलगायत क्षेत्रमा सडकको केही भाग भासिँदा यातायात जोखिमपूर्ण बनेको थियो ।
सडक अवरुद्ध भएपछि मनाङतर्फ जाने तथा बेँसीसहरतर्फ आउने यात्रु र सवारीसाधन प्रभावित भएका छन् । वर्षा जारी रहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेकाले सडक आसपास अनावश्यक रूपमा नजान र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?