कालीगण्डकीको बाढीले मिर्मीको पक्की पुल बगायो, सेतीवेणी डुबानमा
काठमाडौं । अविरल वर्षासँगै उर्लिएको कालीगण्डकी नदीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगाएको छ । नदीमा आएको भीषण बाढीले कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले लगातारको वर्षापछि कालीगण्डकीमा पानीको बहाव अत्यधिक बढ्दा पुलमा क्षति पुगेको बताउनु भयो । पुल बगेपछि मिर्मी र हर्मीचौरबीचको सडक सम्पर्क प्रभावित भएको छ ।
नदीको बहाव बढ्दै गएपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले समेत विद्युत् उत्पादन बन्द गरेको छ । आयोजनाका सबै ढोका खोलिएको र बाँधमा पानीको चाप बढेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि उत्पादन रोकिएको हो । कालीगण्डकी ‘ए’ आयोजनाको १४४ मेगावाट विद्युत् उत्पादन हुने क्षमता छ ।
कालीगण्डकीमा पानीको सतह बढेसँगै स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ । नदी र आसपासका खोलामा आएको बाढीका कारण तटीय बस्ती तथा बजार क्षेत्रमा जोखिम बढेको छ ।
यसअघि पनि कालीगण्डकीको बहाव बढ्दा सेतीवेणी क्षेत्र डुबानको उच्च जोखिममा पर्ने गरेको थियो ।
लगातारको वर्षाले कालीगण्डकी आसपासका बस्तीमा बाढी र डुबानको जोखिम बढेको छ । नदीको बहाव थप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?