काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै स्थानीय तहमा गाउँ तथा नगर नेतृत्व चयन भएको छ । ९ पालिकामा सर्वसम्मत र गलकोट नगरपालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो ।
जिल्लाका ८५ वडामा वडा अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरेपछि गाउँ तथा नगर अधिवेशनबाट पालिका तहको नेतृत्व टुंगो लगाइएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकामा दीपक अदै र जैमिनी नगरपालिकामा काशीराम आचार्य सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङमा मोतिराम गौतम, काठेखोलामा ज्ञामनाथ कँडेल, बडिगाडमा रणबहादुर भुजेल, निसीखोलामा खिमबहादुर कार्की र तमानखोलामा झकबहादुर बुढा चयन हुनुभएको छ ।
गलकोट नगरपालिकामा भने सभापति पदका लागि मतदान भएको थियो । मतदानमा हिमबहादुर भण्डारी १७१ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गर्नुभएको थियो ।
यससँगै जिल्लाका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । पालिका अधिवेशनबाट चयन भएका नेतृत्वले अब स्थानीय तहमा पार्टी संगठनलाई अघि बढाउने जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन देशभर संचालन भइरहेको छ । केन्द्रीय कार्यसमितिको निर्वाचन तालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?