काठमाडौं । अविरल वर्षापछि आएको बाढीले मनोहरा खोलाको बहाव बढाउँदा भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने पुल जोखिममा परेको छ । पुलसँगैको सडकको जमीन भाँसिएपछि सुरक्षाका लागि उक्त सडकमा यातायात आवागमन रोकिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले लगातारको वर्षाले मनोहरा खोलामा पानीको बहाव बढेपछि पुल आसपासको जमीन भासिन पुगेको जानकारी दिनुभयो । जमीन भासिएर पुलसमेत जोखिममा परेपछि तत्कालका लागि सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
बाढीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कालगायतको टोलीले मनोहरा र हनुमन्ते खोलासहित विभिन्न क्षेत्रमा अनुगमन गरेका थिए । वर्षाले खोलाको बहाव बढेपछि जिल्लाका केही बस्ती तथा सडक क्षेत्रमा समेत जोखिम बढेको छ ।
भक्तपुरको हनुमन्ते, खस्याङ–खुसुङ र गोदावरी खोलामा पानीको सतह बढेको छ । डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी सडकबाटै बगेपछि आवागमन प्रभावित भएको छ ।
यसैबीच बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका मानिसलाई सुरक्षित स्थानमा सारेको छ । विस्थापितलाई कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?