पहिरोले थुनियो नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग, यात्रु अलपत्र
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै अवरुद्ध छ । पहिरोसँगै ढुङ्गा र लेदो खस्ने क्रम नरोकिएपछि दुवै राजमार्गमा यातायात नियमित हुन सकेको छैन ।
बिहीबार साँझ ८ बजेदेखि अवरुद्ध सडकमा रातभर सवारीसाधन रोकिएका थिए । वर्षा र पहिरोको जोखिमले तत्काल सडक खुलाउन कठिन भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले दुवै सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले सडकको अवस्था हेरेर आज दिउँसो केही समय एकतर्फी यातायात संचालन गरिएको जानकारी गराउनु भयो ।
पोखरातर्फ जाने तथा नारायणगढतर्फ आउने सवारीसाधनलाई एकतर्फी रूपमा पार गराइए पनि सडक पूर्णरूपमा संचालनमा भने आउन सकेको छैन । ठाउँ–ठाउँमा ढुङ्गा, लेदो र पहिरो खसिरहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बिहीबारदेखि नै विभिन्न स्थानमा सवारीसाधनको लामो लाइन लागेको छ । गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीच बाटोमै रोकिँदा राजमार्गको यात्रा कष्टकर बनेको छ ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायमै छ । यही अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले तत्काल नियमित यातायात संचालन नगरी जोखिमको अवस्था हेरेर मात्र सवारीसाधन चलाउन अनुमति दिएको छ ।
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग देशका विभिन्न भू–भागलाई जोड्ने प्रमुख सडकमार्ग हुन् । यी सडकमा आएको अवरोधले यात्रु आवागमनसँगै अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधनसमेत प्रभावित भएका छन् ।
सडक खुलाउन पहिरो हटाउने काम भइरहे पनि लगातार पहिरो खसिरहेकाले चुनौती थपिदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?