काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ ले जोखिमयुक्त क्षेत्रका नागरिकलाई त्रिपाल तथा प्लास्टिक वितरण गरेको छ।
प्रहरी प्रभाग नागढुंगा र नागढुंगा युवा क्लबसँगको संयुक्त समन्वयमा वडाले वर्षा र पहिरोको जोखिममा रहेका परिवारलाई तत्कालको आवश्यकता पूरा गर्न त्रिपाल तथा प्लास्टिक उपलब्ध गराएको हो । वर्षाले घर तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेपछि स्थानीयको अवस्था बुझ्दै आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको कार्यवहाक वडा अध्यक्ष लवराम सुवेदीले जानकारी दिनुभयो ।
यसअघि जोखिम न्यूनीकरणका लागि वडा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी तथा युवा क्लबका पदाधिकारीसहितको टोलीले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
वडाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले पहिरो, भू–क्षय तथा अधिक वर्षाले जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नजान र कुनै समस्या देखिए तत्काल प्रहरी वा वडा कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?