नागढुंगाबाट चार घण्टालाई यातायात खुला, ठूला सवारी अझै होल्डमा
काठमाडौं । लगातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नागढुंगाबाट ४ बजेदेखि राति ८ बजेसम्मका लागि यातायात संचालनमा ल्याइएको छ ।
नागढुंगा प्रहरी प्रभागका प्रमुख अजयजंग थापाले कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि नागढुंगाबाट त्रिभुवन राजपथ हुँदै सवारी संचालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
थापाले त्रिभुवन राजपथको सडक क्षमता र अवस्थालाई मध्यनजर गर्दै ग्यासका बुलेट र १० चक्केभन्दा ठूला सवारीसाधनलाई नागढुंगामै होल्ड गरिएको जानकारी दिनुभयो ।
उहाँले नौबिसेतर्फबाट काठमाडौं आउँदै गरेका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा ग्यासका सिलिण्डर बोकेका सवारीसाधनलाई भने अत्यावश्यक आपूर्तिलाई ध्यानमा राख्दै काठमाडौं प्रवेश दिइएको बताउनु भयो ।
यसैबीच, सडकको जोखिम र सवारी चापलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई सम्बन्धित निकायले तोकेको समय र मार्गअनुसार मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।
वर्षा नरोकिएसम्म पहिरो तथा सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले अनावश्यक यात्रा नगर्नसमेत सुरक्षा निकायले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?