काठमाडौं । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । नदीमा पानीको सतह निरन्तर उकालो लागेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोका क्रमशः खोलिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव मापन गरिएको जनाएको छ । विहान १० बजेको समयमा पानीको बहाव मापन गरिंदा २५ वटा ढोका खोलिएका थिए । पानीको बहाव बढ्दै गएपछि दिउँसो १ बजे २ लाख २९ हजार ९६० क्युसेक पुगेको थियो । त्यसपछि ३० वटा ढोका खोलिएकोमा दिउँसो २ बजे बहाव अझ बढेर प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको खड्काले जानकारी दिए ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था छ । नदीको बहाव बढ्दै गएपछि ब्यारेज क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।
वर्षा नरोकिएकाले सप्तकोशीको जलसतह अझै बढ्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमपूर्ण स्थानमा नजान, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सप्तकोशीको बहाव बढेसँगै सुनसरी र सप्तरीका नदी तटीय क्षेत्र तथा तल्लो भू–भागमा सम्भावित जोखिमप्रति विशेष निगरानी आवश्यक देखिएको छ । लगातारको वर्षाले माथिल्लो जलाधारबाट थप पानी आएमा नदीको बहाव अझ बढ्न सक्ने भएकाले स्थानीयवासीलाई प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?