काठमाडौं । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
बिहीबारदेखि लगातार भइरहेको वर्षाले सडकमा पहिरो खस्नुका साथै थप पहिरो र बाढीको जोखिम बढेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन रोकिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
प्रशासनले यसअघि बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म दुवै सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो । तर वर्षा निरन्तर भइरहेकाले निर्धारित समयपछि पनि सडक संचालन नगरी अर्को सूचना जारी नभएसम्म बन्द कायम राखिएको हो ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका छन् । धादिङको कृष्णभीर र टिङराङखानी क्षेत्रमा समेत पहिरोका कारण राजमार्ग प्रभावित भएको पछिल्लो विवरण छ । चितवनको पृथ्वी राजमार्गअन्तर्गत केही स्थानमा सडक भासिने समस्या पनि देखिएको जनाइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन संचालन हुने गरेका छन् । दुवै प्रमुख सडकखण्ड बन्द हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो र नदी–खोलामा पानीको बहाव बढ्ने जोखिमसमेत रहेकाले प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सडक तथा मौसमको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ ।
राजधानीलाई देशका विभिन्न भू–भागसँग जोड्ने यी प्रमुख सडकमा आवागमन रोकिएसँगै यात्रुको सुरक्षालाई प्राथमिकता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?