चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर कार्यसमितिको सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
सभापति पदको निर्वाचनमा श्रेष्ठले १५२ मत प्राप्त गर्दै आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्नुभएको थियो । कृष्णप्रसाद शाही खड्गीले ९२, राजेन्द्र महर्जनले २८, रमेश सुवेदीले १४ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गरेका थिए ।
श्रेष्ठ चन्द्रागिरि नगरपालिका–१२ का पूर्ववडाध्यक्ष हुन् । संचार क्षेत्रमा समेत लामो अनुभव रहेको श्रेष्ठले अब चन्द्रागिरि नगर कांग्रेसको नेतृत्व सम्हाल्ने छन् ।
नगर कार्यसमितिको महिला उपसभापतिमा शान्ता बस्नेत १२२ मतसहित निर्वाचित भएकी छन् । सुनिता रोक्काले ९८ र उमा कुमारी थापाले ६० मत प्राप्त गरिन् ।
खुला उपसभापतिमा पुरुषोत्तम उदास १६३ मतसहित निर्वाचित भएका छन् भने विमला पोखरेलले १०९ मत प्राप्त गरिन् ।
सचिव पदमा दिनेश महर्जन २२१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी जीवनकुमार गिरीले ६५ मत प्राप्त गरे ।
चन्द्रागिरिमा नगर नेतृत्व चयनसँगै अब नयाँ कार्यसमितिले स्थानीय तहमा पार्टीको संगठनात्मक गतिविधिलाई अघि बढाउनेछ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?