चन्द्रागिरिमा अब दर्ता भएका उपभोक्ता समितिले मात्रै विकासका योजना सञ्चालन गर्न पाउने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रचलित कानुनअनुसार दर्ता भएका उपभोक्ता समितिमार्फत मात्र आयोजना तथा योजनाको काम संचालन गर्न वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
नगरपालिकाको प्रशासन शाखाले बुधबार सबै वडा कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार उपभोक्ता समिति दर्ता गरेर मात्र योजना कार्यान्वयन गर्न आग्रह गरेको हो ।
पत्रमा आयोजना वा योजनाको कामका लागि गठन हुने उपभोक्ता समिति कानुनबमोजिम दर्ता भएको हुनुपर्ने उल्लेख छ । नगरपालिकाले उपभोक्ता समिति दर्ताका लागि आवश्यक पर्ने विधान, दर्ता प्रमाणपत्रलगायत कागजात पेस गर्नसमेत आग्रह गरेको छ ।
नगरपालिकाले उपभोक्ता समिति दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कार्यालयमा कागजात पेस गर्नुपर्नेछ । दर्ता नभएका समितिमार्फत योजना संचालन गर्दा कानुनी तथा प्रशासनिक जटिलता उत्पन्न हुन सक्ने भएकाले समितिको दर्तालाई अनिवार्य रूपमा पालना गर्न भनिएको छ ।
नगरपालिकाले यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा कार्यालयहरूलाई आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेको छ । सार्वजनिक खरिदसम्बन्धी कानुनमा उपभोक्ता समितिमार्फत गरिने कामका लागि निश्चित प्रक्रिया र सर्त तोकिएका छन् ।
चन्द्रागिरि नगरपालिकाले यसअघि पनि उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि सार्वजनिक गरिसकेको छ । स्थानीय विकास निर्माणका काममा समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गठन हुने यस्ता समितिलाई कानुनी प्रक्रियाभित्र ल्याउने प्रयासका रूपमा नगरपालिकाको पछिल्लो निर्देशनलाई हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?