काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसंगै बैंकल्पिक मार्गको खोजी थालिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रुपमा छ । सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ । यससँगै पैदलयात्रासमेत रोकिएको छ । तत्काल सडक बनाउन सक्ने अवस्था छैन । विज्ञहरुले वैकल्पिक अध्ययन थालेको आयोजनाले जनाएको छ ।
सडक तत्काल वनाउन नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङवेसी–सल्यानटार–गोरखा हुँदै आउनेसहितका अन्य सडकको अध्ययन भइरहेको बताइएको छ ।
पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बाटोको खोजी भइरहेको हो । तत्काल मर्मत सम्भार गरेर चलाउन सकिने सडकलाई खोजी गरी तत्काल सञ्चालनमा ल्याउने तयारी छ ।
पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्ने छन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखा तिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो । यो सडक राजधानीका लागि लाइफ लाइन सडक हो । राजधानीमा ग्यासका बुलेट लगायतका ठूला गाडीसमेत लैजानुपर्ने हुन्छ । यस सडकमा दैनिक १४ हजार हाराहारी सवारी गुड्ने गर्दछन् । केही वर्ष अघिसम्म निकै दुःख दिएको कृष्णभीरको मर्मत सम्भार र पहिरो रोकथामका काम गरेपछि पछिल्ला वर्षहरुमा समस्या भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?