काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ का ज्येष्ठ नागरिकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेका छन् । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आबद्ध ज्येष्ठ नागरिकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार ९ सय ४५ रुपैयाँ जम्मा गरेका हुन् ।
ज्येष्ठ नागरिकहरूले एभरेष्ट बैंक लिमिटेडको सतुंगल शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर ००१००१०५२००२७० मा उक्त रकम जम्मा गरेका हुन् ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष रामशरण रिजालले देशमा सोच्दै नसोचेको ठूलो विपत्ति आइलाग्दा अकल्पनीय धनजनको क्षति भएको बताउनुभयो । बाढीले घरबारविहीन भएका परिवारलाई तत्काल आवश्यक पर्ने गाँस र बासका लागि केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले ज्येष्ठ नागरिकले आफ्नो क्षमताअनुसार रकम संकलन गरी सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले विपद्का बेला प्रभावित परिवारलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता पर्ने भन्दै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरिकहरूले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष रिजालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?