काठमाडौं । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ । मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् । मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरु सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन् ।
मुस्ताङमा गत वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजारको स्याउ उत्पादन भएको थियो । जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा ९९ करोड रुपैयाँ जिल्लामा भित्रिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?