चन्द्रागिरिको गणेश महिला समूहद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग
काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित गणेश महिला समूहले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । समूहले तीज विशेष कार्यक्रमका लागि छुट्याएको रकम बाढीपीडितको सहयोगमा प्रदान गरेको हो ।
समूहले ग्लोबल आईएमई बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर ००४०१०१००००५७ मा ३० हजार १५५ रुपैयाँ जम्मा गरेको छ ।
गणेश महिला समूहकी अध्यक्ष निर्मला थापाले देशमा सोच्दै नसोचेको घटना घटेको र हजारौं व्यक्तिले ज्यान गुमाएको भन्दै अहिले देश नै शोकमा रहेको बताउनुभयो । उहाँले बाढीले हजारौं व्यक्ति घरबारविहीन हुन पुगेको तथा उनीहरूलाई गाँस, बास र कपासकै समस्या भएको अवस्थामा पीडितको घाउमा मलम लगाउने उद्देश्यले समूहले तीज कार्यक्रमको लागि खर्च गर्न लागेको रकम सहयोग गरेको बताउनुभयो ।
अध्यक्ष थापाले सबैका आ–आफ्नै समस्या भएपनि विपद्को यस समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभयो ।
गणेश महिला समूहमा १ सय ४७ जना सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?