काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ गरेर ८७ हजार ८ सय ७७ वटा सिलिण्डर काठमाडौं ल्याइएको हो ।
यही भदौ १८ गते २४ हजार ४ सय ९४, भदौ १९ गते ३४ हजार १ सय ३४ र भदौ २० गते २९ हजार २ सय ४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमले जनाएको छ । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।
यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ ल्याउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?