
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका तीन किसानले पालिकामै पहिलोपटक व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले संयुक्त लगानीमा कालीबराह कृषि तथा पशुपन्छी फार्म संचालन गरी चौँरीपालन थालेका हुन् ।
उनीहरूले अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्र रिखारमा चराउन लगेका छन् । प्रशस्त चरन क्षेत्र, बाँझिँदै गएका जमीनको उपयोग, अनुकूल हावापानी र बजारको सम्भावनालाई हेरेर चौँरीपालनमा लागेको किसान धनप्रसाद गर्बुजा बताउँछन् ।
फार्ममा तीन किसानको करिब ६० लाख रुपैयाँ लगानी भएको छ । चौँरीको दूधबाट छुर्पी उत्पादन गरी बिक्री गर्ने तथा याकको मासु बजारमा पुर्याउने योजना रहेको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै आगामी दिनमा चौँरीको संख्या थप बढाउने लक्ष्य किसानको छ ।
चिमखोलामा बर्खायाममा हिमालको फेदीका बुकी क्षेत्रमा चौँरी चराउने र हिउँदमा बेँसीका फाँटमा ल्याउने गरिएको छ ।
समुद्री सतहबाट करिब २ हजारदेखि ५ हजार मिटर उचाइसम्मको क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । हिमाली भेगमा परम्परागत रूपमा दूध, मासु तथा सामान ढुवानीका लागि पालिँदै आएको चौँरीलाई पछिल्लो समय व्यावसायिक आम्दानीको स्रोतका रूपमा समेत लिन थालिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा भने विसं २०६० को दशकदेखि चौँरीपालन हुँदै आएको छ । पशुपन्छी मन्त्रालयले नेपालभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?